दफा १३५क
बचत रकम फिर्ता गर्न समिति गठन गर्न सकिने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै/सहकारी संस्थाले क्रण असुली हुन नसकेको लगायतका कारणबाट आफ्ना सदस्यलाई बचत रकम फिर्ता दिन नसकेको, सञ्चालक समितिले सदस्यको हित विपरीतको काम गरेको वा सञ्चालक समितिका अधिकांश सञ्चालक संस्थामा उपस्थित नभएको वा यस ऐन बमोजिम साधारण सभा नबसेको कारण सदस्यको बचत रकम फिर्ता हुन नसकेको भनी संस्थाका कम्तीमा पन्ध्र प्रतिशत सदस्यहरूले संस्थाको सम्पत्ति जिम्मा लिई सदस्यको बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि बचत रकम फिर्ता समिति गठन तथा संस्था सञ्चालन गर्न सम्बन्धित सहकारी हेर्ने निकायमा अनुमतिका लागि निवेदन दिन सक्नेछन्‌।

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा सम्बन्धित सहकारी हेर्ने निकायले अभिलेख राखी त्यस्तो समिति गठन तथा संस्था सञ्चालन गर्न अनुमति दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम अनुमति प्राप्त भए पछि उपदफा (१) बमोजिम निवेदन दिने सदस्यहरूले बचत रकम फिर्ता समिति गठन गरी संस्था सञ्चालन गरेको जानकारी सम्बन्धित सहकारी हेर्ने निकायलाई तत्काल दिनु पर्नेछ।

(४) उपदफा (३) बमोजिम गठन भएको समितिले त्यस्तो समिति गठन भएको छ महिनाभित्र साधारण सभा गरिसक्नु पर्नेछ।

(५) उपदफा (३) बमोजिमको समितिले यस ऐन बमोजिम समितिलाई भएको अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नेछ।

(६) उपदफा (३) बमोजिमको समितिले सदस्यको बचत रकम फिर्ता दिँदा दफा १०८क. को अधीनमा रही बचत रकम फिर्ता गर्नु पर्नेछ।

(७) उपदफा (३) बमोजिम गठन भएको समितिले बचतकर्ता सदस्यलाई बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि क्रणीबाट असुल गरेको रकम, संस्थाको चल अचल सम्पत्तिबाट प्राप्त आय रकम तथा बचतकर्तालाई फिर्ता गरेको बचत रकमको बिवरण छुट्टै तयार गरी सुरक्षितरुपमा अभिलेख राख्नु पर्नेछ र त्यसको विवरण सम्बन्धित सहकारी हेर्ने निकायलाई प्रत्येक तीन महिनामा पेस गर्नु पर्नेछ।

(८) उपदफा (७) बमोजिम विवरण प्राप्त भएपछि उपदफा (३) बमोजिम गठन भएको समितिलाई सम्बन्धित सहकारी हेर्ने निकायले आवश्यक निर्देशन दिन सक्नेछ।

(९) उपदफा (७) बमोजिम क्रणीबाट असुल गरेको रकम, संस्थाको चल अचल सम्पत्तिबाट प्राप्त आय तथा संस्थाको सम्पत्ति बिक्रीबाट - प्राप्त रकमलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजत पत्र प्राप्त “क” वर्गको कुनै बैङ्कमा छुट्टै खाता खोली रकम जम्मा गरी सो खाताबाट बचतकर्ता सदस्यको बचत रकम भुक्तानी गर्नु पर्नेछ ।

(१०) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३) बमोजिमको समितिका सदस्यले यस दफा बमोजिम जिम्मेवारी लिनु अगावै यस ऐन विपरीत भएको काम कारबाहीको सम्बन्धमा जवाफदेही हुनु पर्ने छैन र सो सम्बन्धमा निजलाई कुनै कानूनी कारबाही हुने छैन।